जाल्पा सामुदायिक लघुवित्तले कति पाउँदैछ ओपनिङ रेञ्ज ?

Image

काठमाण्डाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि माघ २५ गतेसम्म निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन १ गते सम्पन्न भइसकेकाे छ ।

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ साेही बिषयमा जानकारी गराउँदैछाैं ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३ सय ७९ रूपैयाँ ८६ पैसादेखि अधिकतम एक हजार एक सय ३९ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ३ सय ७९ रूपैयाँ ८६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा एक हजार एक सय ३९ रुपैयाँ ५८ पैसा हुन्छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । संस्थाकाे आईपीओमा परेकाे आवेदनले नयाँ रेकर्ड कायम गरेकाे थियाे ।

अन्तिम दिनसम्ममा २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन दिएका थिए । जसमध्ये, २५ लाख ८७ हजार ४ सय १२ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४८ हजार ७ सय ९० जनाले १० कित्ता सेयर हात पारेका थिए ।