धनगढी । नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि १८ गते दोस्रो चरणको मतदान हुने भएको छ। जिल्ला अधिवेशनअन्तर्गत आज भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन्। बमले एक हजार १६९ मत पाएका छन्। यस्तै सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन्। अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि प्रतिस्पर्धा हुने छ।
निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीलेका अनुसार आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८६ जना प्रतिनिधिले मत खसालेका थिए। सोअनुसार जितका लागि कम्तीमा पनि एक हजार २४४ मत आवश्यक थियो। पहिलो चरणमा बमलाई ७५ मत अपुग भएको निर्वाचन अधिकृत सुवेदीले बताए।
काँग्रेसको विधानअनुसार सभापतिमा जितका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा १८ गते मतदान गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत सुवेदीले बताए।
दोस्रो चरणको मतदान हुने भएसंगै अब पहिलो चरणको मतगणनामा तेस्रो भएका इतर पक्षका रामबहादुर कलेलको भूमीका महत्वपूर्ण देखिएको छ। उनले समर्थन गर्ने उम्मेदवार सभापतिमा विजयी हुने सम्भावना बलियो देखिएको छ।
स्राेत – दिनेशखबर