धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ (कैलाली) विजयी भएका छन्। सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका मानबहादुर धामी `सन्तोष´ (दार्चुला)लाई पराजित गर्दै चौधरी विजयी भएका हुन्।
प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो। प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी भएका हुन् भने धामीले ९३ मत पाए।
यस्तै अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ। प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल ( अछाम ), मानसिंह माल( डडेल्धुरा ) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन्।
सचिवमा जनक बुढा ( बझाङ ), सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र ( कैलाली ), रामबहादुर देवकर ( कंचनपुर ) र अन्जिता श्रेष्ठ ( डोटी ) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा ) विजयी भएका छन्।
निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो। सोमबार निर्वाचनमार्फत पदाधिकारी टुंगो लगाइएको हो।