हेटौंडा / सेवा सहयोग आवाजका अध्यक्ष बिसाल राज महतले शिवम् सिमेन्टसँग सम्बन्धित विषयमा आफ्नो संस्थाले गर्नुपर्ने सबै पहल गरिसकेको भन्दै अब निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित निकायको भएको बताएका छन्।
महतका अनुसार करिब चार महिनाको अवधिमा शिवम् सिमेन्ट उद्योगसँग सम्बन्धित समस्या समाधानका लागि उद्योग, मन्त्रालय, वातावरण शाखा, नगरपालिका तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो। साथै स्थानीय पीडित र सरोकारवालालाई एउटै स्थानमा राखी अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरेर समाधान खोज्ने प्रयास गरिएको उनले बताए।
उनले आफ्नो संस्था र आफ्नो जिम्मेवारी अनुसार गर्नुपर्ने भूमिका पूरा गरिसकेको उल्लेख गर्दै त्यसपछिका निर्णय कार्यान्वयन गर्ने दायित्व सम्बन्धित सरकारी निकायको भएको स्पष्ट पारे।
शिवम् सिमेन्ट प्रकरणमा आफूहरू मौन बसेको वा ‘सेटिङ’ भएको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै महतले त्यस्ता आरोप निराधार रहेको बताए। “एउटै विषयलाई बारम्बार दोहोर्याइरहनुको पनि एउटा सीमा हुन्छ। सम्बन्धित निकाय सबै विषयमा जानकार हुँदाहुँदै पनि आवश्यक कदम चाल्दैन भने कराएर वा चिच्याएर मात्र समस्या समाधान हुँदैन,” उनले भने।
महतले आक्रोशका कारण आन्दोलन, तोडफोड वा कानुनविपरीतका गतिविधिमा संलग्न हुनु समाधान नभएको पनि बताए। उनका अनुसार त्यस्ता गतिविधिले समस्या समाधान गर्नुको सट्टा मुद्दा, दुःख र बन्दी जीवनजस्ता थप जटिल अवस्था निम्त्याउन सक्छ।
“हामी अहिले संयमित छौँ, तर विषयबाट पछि हटेका छैनौँ,” उनले भने।
‘सेटिङ भयो’ भन्ने चर्चा चियापसलको गफको विषय हुन सक्ने तर त्यसमा कुनै सत्यता नरहेको उनको भनाइ छ। उनले यस विषयमा आफ्नो धारणा स्पष्ट पार्दै बाँकी आफ्नो-आफ्नो धारणा बनाउने अधिकार सबैमा सुरक्षित रहेको उल्लेख गरेका छन्।
















