मकवानपुरमा लागुऔषधसहित दुई जना पक्राउ

Image

हेटौंडा/ मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार २३ गते बेलुका नियमित चेकजाँचका क्रममा हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टबाट बारा जिल्लाको निजगढ नगरपालिका–२ निवासी अन्दाजी २५ वर्षीय आर्यन घिमिरे पक्राउ परेका हुन्।

वीरगञ्जबाट दाङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०५५५ नम्बरको यात्रुवाहक बसमा सवार घिमिरेको साथमा रहेको झोलाको खानतलासी गर्दा ट्रामाडोल ५४ पत्ता (५४० ट्याब्लेट) र नाइट्राजेपाम ५ पत्तामध्ये ४८ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। एक पत्ताबाट दुई वटा ट्याब्लेट सेवन गरिसकेको अवस्थामा खाली भेटिएको पनि प्रहरीले उल्लेख गरेको छ।

यस्तै, हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० निवासी ३७ वर्षीय देव श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २४० मिलिग्राम बरामद भएको छ।

प्रहरीले दुवै जनालाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ। आर्यन घिमिरेविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने देव श्रेष्ठको घटनाबारे पनि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।