हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको ना.५ ख.५३१९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
मंगलबार राति करिब ११:०५ बजे बसको समयमा स्टेरिङको टाइरड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारतर्फ कोल्टो पर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। बसमा सवार १६ यात्रुमध्ये पाँच जना घाइते भएका उनीहरूलाई तत्काल मनहरी अस्पतालमा उपचारका लागि लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित CMC अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाही निवासी अन्दाजी ३९ वर्षीय बस चालक भिमबहादुर विकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसैगरी चितवन भरतपुर महानगरपालिका–४ निवासी अन्दाजी ३० वर्षीय सञ्जय तामाङको दाहिने हातमा, पर्सा परवानीपुर नगरपालिका–२३ निवासी अन्दाजी ५४ वर्षीय मोहम्मद आजादको निधार र बाँया खुट्टामा, बारा देवताल गाउँपालिका–१ निवासी अन्दाजी २३ वर्षीय राजकुमार रामको दाहिने हातमा तथा भारतको मोतिहारी निवासी अन्दाजी २५ वर्षीय सुदिर कुमारको बाँया हातमा चोट लागेको छ।
अन्य चार घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीयवासीसँगको समन्वयमा दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाई सुरक्षित रूपमा सडक किनारमा पार्किङ गरेको छ। दुर्घटनापछि राजमार्गमा यातायात सञ्चालन अवरुद्ध नभएको तथा अन्य यात्रुलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।















