काठमाडौं
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताले सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)मा विवाद बढाएको छ । नारायणकाजी श्रेष्ठलगायत नेताहरूको असहमतिबीच व्याख्यात्मक घोषणा गरेर सम्झौता अनुमोदन गरिएको थियो ।
एमसीसी संसद्बाट पारित भएपछि श्रेष्ठका विषयमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा आयोजित पत्रकार सम्मलेनमा ‘पार्टी छाडेर जाँदा हुने’ अभिव्यक्ति दिएका थिए । त्यसले विवाद थप चर्काएको छ ।
श्रेष्ठको असन्तुष्टिपछि प्रचण्ड बुधबार उनकै निवास हात्तीवन पुगेका थिए । त्यसक्रममा प्रचण्डले एमसीसीमा मतभेद भए पनि मिलेर जाने प्रस्ताव राखेका थिए ।
“एमसीसीका कारण मतभेद भयो । त्यो कुराले अरूमा प्रभावित नपारौँ, पार्टीभित्र छलफल गरेर जाऔँ,” प्रचण्डले भनेका थिए ।
पत्रकार सम्मलेनमा नै ‘पार्टी छाडेर जानू’ भन्नेजस्तो अभिव्यक्ति दिएकाले आफू सोच्न बाध्य भएको श्रेष्ठले बताएका थिए । “हामीले पार्टीबाहिर जाने कुरा गरेका थिएनौँ । जा भनेपछि अप्ठ्यारो त पर्यो नि ! सार्वजनिक रूपमा नै पत्रकार सम्मलेनमा भनेपछि म सोच्न त बाध्य भएँ भनेर मैले भनेँ । तर, निर्णयमा पुगेको छैन । फेरि छलफल गर्ने कुरा भएको छ,” उनले बाह्रखरीसित भने ।
श्रेष्ठले नयाँ पार्टी गठनको तयारी गरेको चर्चा भए पनि त्यस्तो कुनै निर्णयमा पुगिनसकेको उनले बताए ।
विप्लवले पनि भेटे
बिहीबार बिहान नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि श्रेष्ठलाई भेट्न उनको निवास पुगे । विप्लवले एमसीसी अनुमोदन भए पनि त्यसविरुद्धको अभियान जारी राख्ने प्रस्ताव गरेका थिए ।
“एमसीसी पास भएको सन्दर्भमा एमसीसीविरुद्धको अभियानलाई जारी राखौँ भन्ने उहाँको कुरा थियो । फागुन २० गते कार्यक्रम आयोजना गर्नुभएको रहेछ,” विप्लवसँगको भेटबारे उनले भने, “त्यसको निम्तो पनि दिनुभयो । समग्र कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भयो ।”