एसईई परीक्षा दिने विद्यार्थीहरुको लागि २ हजार भन्दा बढी परीक्षा केन्द्र तोकिए (सूचीसहित)

Image

काठमाडौं

राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी सहभागी हुने र २ हजार २७ परीक्षा केन्द्र रहने बताएको छ । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालको बुधबार बसेको बैठकले उक्त संख्यामा केन्द्र तय गरेको हो ।

बोर्डको अनुसार ११ हजार ३ सय ७५ विद्यालयमा परीक्षा हुनेछ जसमा सबैभन्दा बढी काठमाडौंमा १ हजार ३ सय विद्यालयमा १ सय २४ केन्द्र कायम गरिएको जनाएको छ ।

बोर्डका अनुसार ललितपुरमा ३ सय ३४ विद्यालयमा ३४ केन्द्र कायम गरिएको छ । ललितपुरमा १० हजार २ सय ७२ परीक्षार्थी रहनेछन् । भक्तपुरमा १ सय ९५ विद्यालयमा २३ केन्द्र कायम गरिएको छ । भक्तपुरमा ५ हजार ९ सय २७ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदै छन् ।

कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कञ्चनपुर, प्रदेश–१ को मोरङ, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, गण्डकीको कास्की र लुम्बिनीको दाङमा सबैभन्दा बढी केन्द्र र परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । बोर्डले यो वर्षको परीक्षाको प्रश्नपत्र अनलाइनबाट प्रश्नपत्र नपठाउने भएको छ । कक्षा १२ को परीक्षामा अनलाइन प्रश्नपत्र तयार गर्ने भए पनि एसईई परीक्षामा छापेरै प्रश्नपत्र पुर्याउने तयारी गरेको छ ।

रापबोर्डको बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ गर्ने निर्णय गरेको छ । परीक्षाको प्रश्नपत्र आज शुक्रबारबाट छपाइ शुरु हुनेछ । त्यसका लागि कक्षा १० को परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीसहितको टोली जनक शिक्षा सामग्री केन्द्रमा पुग्नेछन् । सो टोली करिब २५ दिन केन्द्रको गोप्य कक्षमा बस्नेछ । प्रश्नपत्र छपाइ सकेपछि मात्र बाहिरिनेछ । बोर्डले प्रश्नपत्र छपाइ गर्न टोलीलाई पठाउने निर्णय गरिसकेको छ ।

यसअघि बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैकल्पिक र प्रश्नपत्र छपाइ गरेर परीक्षा सञ्चालन गर्ने बताउनुभएको थियो । बुधबार सम्पन्न रापबोर्डको बैठकले सबै प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको छ । परीक्षाका लागि करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ । जनक र बोर्डबीच हिजो बिहीबार सम्झौता भएलगत्तै बन्दोबस्तीका सामग्रीसहित परीक्षा नियन्त्रकको टोली आजबाट जनक शिक्षाको सुरक्षण मुद्राणालय (सेक्युरिटी प्रेस) जानेछन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा प्रश्नपत्र छपाइ हुनेछ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा करिब ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी करिब ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ ।

जनक शिक्षा सामग्रीको गोप्य कोठाबाटै प्रदेश र अन्य केन्द्रको प्रश्नपत्र पोका बनाएपछि मात्र नियन्त्रकसहितको टोली परीक्षाको अन्तिम तयारीका लागि बाहिरिनेछन् । परीक्षा वैशाख ९ गतेबाट २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ ।

नेपाल समाचारपत्रबाट