यसरी हुँदै छ चैतमा हुने शिक्षक सेवा आयोगको परीक्षाको तयारी

Image

काठमाडौं।

शिक्षक सेवा आयोगले चैतमा हुने शिक्षकको परीक्षाका लागि आन्तरिक तयारी गरिरहेको छ ।

आयोगले लामो समयदेखि रोकिएको दरबन्दी पदपूर्तिका लागि विद्यालयको तीनै तह प्राथमिक विद्यालय (प्रावि), निम्न माध्यामिक विद्यालय (निमावि) र माध्यामिक विद्यालय (मावि)मा विज्ञापनमा खुलाएको थियो ।

अहिले आयोगले प्रावि, निमावि र माविको खुला तथा बढुवातर्फको परीक्षा गर्न आन्तरिक तयारी तीव्र पारेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । यसका लागि आयोगले चैतको पहिलो हप्तासम्म परीक्षा केन्द्र निर्धारण गरेर प्रकाशन गर्ने योजना बनाएको उनले बताए । “रोल नम्बरको आधारमा परीक्षा केन्द्र तोक्नेछौँ । अहिले प्रश्नपत्रको काम भइरहेको छ । त्यसपछि छपाइको तयारी गर्छौं,” उनले भने ।

निमावि र माविको खुलातर्फ र बढुवाको सबै तहको परीक्षा प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुनेछ भने प्राविको समन्वय इकाइमार्फत परीक्षा हुने मरहठ्ठाले जानकारी दिए । शिक्षा विकास निर्देशनालयको निर्देशक तथा समन्वय इकाइ प्रमुखको निगरानीमा परीक्षाहरू हुने छन् ।

यस्तै, प्रमुख जिल्ला अधिकारीको संयोजनकत्वमा परीक्षा समन्वय समिति तोकिएको छ । “उहाँहरूको नेतृत्वमा परीक्षा केन्द्र तोक्नेदेखि केन्द्राध्यक्षको नियुक्तिलगायत निरिक्षकको व्यवस्थापन गर्नुहुनेछ,” सूचना अधिकारी मरहठ्ठाले बताए ।

प्रावि, निमावि र माविको खुलातर्फको सामान्य परीक्षा ए १०० पूर्णांकको वस्तुगत प्रश्नहरू हुनेछन् । बढुवा प्रयोजनका लागि माविमा ४० पूर्णांकको वस्तुगत र ६० पूर्णांकको ‘सब्जेक्टिभ’ प्रश्नहरू हुनेछन् । खुलातर्फको माविको चैत १५, निमाविको चैत १७ र प्राविको चैत १९ गते परीक्षा हुने छ । बढुवाको सबै तहको चैत २१ मा परीक्षा हुँदै छ ।

खुलातर्फको परीक्षामा ३५ हजारभन्दा बढी माविमा, ८५ हजारभन्दा बढी निमावि र १ लाख १३ हजारभन्दा बढी प्राविमा परीक्षार्थीहरू सामेल हुँदैछन् । बढुवामा लगभग सबै तहमा गरेर १४ हजारले परीक्षा दिँदैछन् ।