हेलिकप्टरले ‘८४ हजार लिटर पानी खन्याएपछि’ हरियाली सामुदायिक वनमा लागेकाे डढेलाे निभ्याे

Image

साेलुखुम्बु

सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै रहेको हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाइएकाे छ ।

गएकाे आइतवार रातिदेखि सुरु भएको डढेलो आज बुधवार दिउँसो निभाउन सफल भएको खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा डढेलो निभाइएकाे हो ।

आगो निभाउनका लागि गएकाे सोमवारदेखि हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । हेलिकप्टरले ८४ हजार लिटर पानी प्रयोग गरेर डढेलो निभाएको शेर्पाले जानकारी दिनुभयो ।

डढेलोको धुवाँका कारण सोमवार बिहान झन्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गरिएको थियो । डढेलोका कारण लेकाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका रुखबिरुवा नष्ट भएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।