काठमाडौँ ।
नेपाल सरकारकारले चैत्र ३ र ४ गतेका लागि सार्बजनिक बिदा दिने भएको छ । फाल्गुण शुक्लपक्ष पूर्णिमाका दिन मनाइने पर्व फागुपूर्णिमाको अवसरमा संघीय सरकारले सार्बजनिक बिदा दिएको छ ।
प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा चैत्र ३ र तराई भेगमा ४ गते भव्यताका साथ मनाइँदैछ । सरकारले पनि ३ गते पहाडी क्षेत्रमा र ४ गते तराईमा सार्बजनिक बिदा दिएको हो ।
रङको चाड ‘फागुपूर्णिमा’ किन मनाइन्छ ?
वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् ।
नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् हरिराम जोशी बताउँछन ।
होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो । स-साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।
फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चिर ९विशेष रूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चिर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।