डडेल्धुरा ।
डडेल्धुरामा ‘डडेल्धुरा महोत्सव २०७८’ चैत ८ गतेदेखि हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा चैत ८ गतेदेखि १० गतेसम्म टुँडिखेलमा ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको हो।
आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले महोत्सव बारे जानकारी दिएको हो। रजत जयन्तिको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए।
उनले भने ‘हामीले आफ्नो कार्यकालको अन्तिम समयमा महोत्सव गर्ने अवसर पाएका छौं। यो एउटा सुनौलो अवसर हो। महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवद्धनमा ठूलो टेवा पुग्नेछ, यस्तै ‘सुदूरपश्चिमा थुप्रै पर्यटकीय स्थल भएपनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको छ।’
महोत्सवले स्थानीय कला ससंकृतिको संरक्षण गर्ने नगरप्रमुख ओझाले बताए। महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ।
प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागिएकोले कर्णाली पारीका कुनै पनि कलाकारलाई महोत्सवमा स्थान नदिइने ओझाको भनाइ छ। महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, डेउडालगाएतका स्थानीय प्रस्तुति हेर्न सकिनेछ। महोत्सव निःशुल्क हेर्न पाइनेछ।