काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै श्रेणीमा निरन्तर १५ वर्ष सेवा गरेका र एकपटक पनि नभएका स्थायी शिक्षकहरूलाई एक तह (क्षेणी) बढुवा गर्ने जनाएकाे छ । गत फागुन ९ गते सोमबार नेपाल शिक्षक महासंघले यसबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको थियो । महासंघकाे ध्यानाकर्षणपछि मन्त्रालयले बढुवा गर्ने जनाएकाे हाे ।
महासंघले भनेको छ, ‘स्थायी शिक्षकको लागि हरेक दश वर्षमा एक तहको बढुवाको व्यवस्था गर्ने, शिक्षक बढुवामा विशिष्ट श्रेणी समेत कायम गरी बढुवाको अनुपात ६०:२५:१०:५ कायम गर्ने, तल्लो तहमा कार्यरत योग्यता पुगेका स्थायी शिक्षकहरूको हकमा तहगत बढुवा प्रबन्ध गर्ने, शिक्षक सेवा आयोगले लिने हरेक परीक्षामा तल्लो तहमा स्थायी भएका शिक्षकले मात्र प्रतिस्पर्धा गर्ने गरी निश्चित कोटाको प्रबन्ध गर्ने ।’
महासंघको सो मागमा मन्त्रालयले थप भनेको छ, ‘शिक्षकको बढुवामा तृतीय, द्वितीय, प्रथम र विशिष्टगरी चार श्रेणी कायम गर्ने, तल्लो तहमा कार्यरत योग्यता पुगेका स्थायी शिक्षकहरूको हकमा तहगत बढुवाको प्रबन्ध गर्ने, शिक्षक सेवा आयोगले लिने हरेक परीक्षामा तल्लो तहमा स्थायी भएका शिक्षकले मात्र प्रतिस्पर्धा गर्ने गरी निश्चित कोटाको प्रबन्ध गर्ने र तहगत बढुवा प्रणालीबारे अध्ययन र छलफल गर्ने ।’
हाल तहअनुसार श्रेणीको व्यवस्था रहेको छ । खुल्ला, आन्तरिक प्रतिस्पर्धा र कार्य सम्पादनमा आधारित बढुवाको व्यवस्था रहेको छ ।