Khabar Board
Flash logo up side
flash header

लाइसेन्स परीक्षामा अब नयाँ पाठ्यक्रम, यस्ता प्रश्नहरु मात्र सोधिने

Nirbachan m

काठमाडौं ।

Center article

अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा सोधिने प्रश्नबारे नयाँ व्यवस्था लागु हुने भएको छ । शिक्षक सेवा आयोगले अबदेखि अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने तयारी गरेको छ । आयोगले यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ । पाठ्यक्रम स्वीकृत भएपछि सो लागू हुनेछ ।

यसअघि आयोगले एक सय पूर्णाङ्कको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । आयोग विशेष सूत्रले दिएको सूचनाअनुसार पाठ्यक्रम समिति गठन गरिएको छ र समितिले पाठ्यक्रम संशोधनको अन्तिम चरणमा काम गरिरहेको छ ।

“लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णयअनुरुप पाठ्यक्रम संशोधन गर्न लागेका हौँ” आयोग सूत्रले भने, “वस्तुगतमात्र प्रश्न सोध्दा छिटो नतिजा सार्वजनिक हुनुका साथै उत्तरपुस्तिका परीक्षणमा समेत सहज हुनेछ ।”

सूत्रका अनुसार परीक्षामा ५० वटा प्रश्न सोधिनेछ । यसर्थ एउटा प्रश्नको भार दुई अङ्कको हुनेछ । गलत उत्तर दिएमा प्राप्ताङ्क घटाउने अर्थात् नेगेटिभ मार्किङ गर्ने प्रावधानलाई पाठ्यक्रममा समावेश गरिने भएको छ । ओएमआर पद्धतिबाट उत्तरपुस्तिका परीक्षण गरिनेछ ।

जसले गर्दा नतिजा प्रकाशनमा निकै कम समय लाग्नेछ । उत्तरपुस्तिका परीक्षण गर्न विशेषज्ञलाइ दिइरहनुपर्दैन । यसले गर्दा उत्तरपुस्तिका परीक्षणमा हुँदै आएको लाखौँ रूपियाँ खर्च समेत बचत हुनेछ ।

आयोगले वार्षिक कार्यतालिकामा चैत महिनामा अध्यापन अनुमतिपत्रका लागि विज्ञापन गर्ने उल्लेख गरेको थियो । आयोगले विज्ञापन सार्वजनिक गर्नुअघि पाठ्यक्रम प्रतिक्षा गरिरहेको बुझिएको छ । सामान्यतया नयाँ पाठ्यक्रम लागू भएको मितिले तीन महिनापछिमात्र परीक्षा सञ्चालन गर्न पाइने व्यवस्था छ । चैतमा विज्ञापन आह्वान भएमा आगामी असारमा परीक्षा सञ्चालन हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.