हेटौंडा ।
शानिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषिणा गरेका छन् । यसरी घोषित हुने यो नेपालकै दोस्रो गाउँपालिका रहेको हो ।
यस अघि घोषित पाल्पाको रम्घा गाउँपालिका ५१ वटा सूचकमा सफलता हासिल गर्ने पहिलो स्थानीय तह बनेको थियो भने अन्य २ गाउँपालिका यसअघि तोकिएको ३९ वटा सूचकमा सफलता हासिल गरेर बालमैत्री घोषित भएका थिए । नेपालमा हालसम्म ४ वटा गाउँपालिकालाई बालमैत्री घोषणा गरिएकोमा मकवानपुरमा मकवानपुरगढी सहित मकवानपुरको मनहरी, बकैया ३ वटा पालिका रहेका छन् र पाल्पा रम्घा गाउँपालिकामा बालमैत्री शासन लागु भएको छ । मकवानपुरगढी नेपालको चौथो, बागमती प्रदेशको तेस्रो र ५१ वटा सुचकमा नेपालकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका भएकाे छ ।
गाउँपालिकाले बालमैत्री स्थानीय शासनको सबै सूचकहरु पूरा गरी जिल्ला समन्वय समिति मकवानपुर र बागमती प्रदेश सरकारको अनुगनम तथा अनुमति तथा सिफारिसमा शनिबार गढी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्य र अर्थ समितिको सभापति तथा प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दहाल, प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको सहभागीतामा मकवानपुरगढी गाउँपालिकालाई स्थानीय बालमैत्री शासन लागू भएको गाउँपालिका घोषणा गरीएको हो ।
गाउँपालिकाले ५ वटा मुख्य सूचक भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर गाउँपालिका भित्र बालमैत्री शासन लागू गरेको हो । बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संस्थागत विकास मुख्य सूचक रहेका छन् । बालमैत्री घोषणा आवश्यक ५१ वटा सूचकहरुमा ४० वटामा शतप्रतिशत र बाँकी ११ वटा सुचकमा ९९ दशमलब ७५ प्रतिशत नतिजा हासिल गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले बताएका छन् ।