गणित, विज्ञान र अंग्रेजी विषयको दरबन्दी कायम छिट्टै : शिक्षामन्त्री पौडेल

Image

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले छिट्टै नै गणित, विज्ञान र अंग्रेजी विषयको अस्थायी रूपमै भए पनि दरबन्दी कायम गरेर जाने र छिट्टै नै यो काम सुरु हुने बताएका छन् । शिक्षामन्त्री पौडेलले सोमबार कान्तिपुर एजुकेसन समिटमा सो कुरा बताएका हुन् ।

उनले भने, ‘सरकारले छिट्टै नै गणित, विज्ञान र अंग्रेजी विषयको अस्थायी रूपमै भए पनि दरबन्दी कायम गरेर जाने भनेको छ । छिट्टै नै यो काम सुरु हुन्छ ।’ शिक्षामन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई पनि लोकसेवा आयोग जस्तै सक्रिय बनाएर गुणस्तरीय शिक्षक भर्ना गर्नका लागि पहल भइरहेको बताए ।

उनले विद्यालय सुधारका लागि गर्नुपर्ने काम गर्नका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए । उनले भने, ‘शिक्षण भनेको सम्मानित पेसा हो । यसलाई आफैंमा जिम्मेवार र मर्यादित पनि बनाउनुपर्छ । अहिले भएका शिक्षकलाई हामीले गाली गर्‍यौँ, अपमान गर्‍यौँ भने अरू शिक्षक ल्याउन सकिँदैन ।

भौतिक पूर्वाधार, शिक्षण सिकाइसँग सम्बन्धित सामग्री र शिक्षक संघीय सरकारले व्यवस्था गर्ने भएकाले त्यसमा हामी संवेदनशील छौं । अरू सबै अधिकार स्थानीय तहलाई नै छन् ।’