काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक र कर्मचारीको सेवासुविधाको व्यवस्था एउटै किसिमको बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरक्रियामा उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् ।
तत्काल भएकै शिक्षकबाट शिक्षा प्रणाली चल्ने बताउँदै उनीहरूको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले तालिम गोष्ठीको आयोजना गर्ने बताए ।
‘तत्काल नयाँ शिक्षक ल्याउन सकिने अवस्था हुँदैन, मन्त्री पौडेलले भने, ‘शिक्षकलाई प्रोत्साहित गरी अघि बढ्दै नयाँ शिक्षकलाई भित्र्याउने हो ।’उनले शिक्षकले कर्तव्य भूल्न पनि नहुनेमा जोड दिए । शिक्षामा चाहेको काम गर्न बजेटका कमी नहुने मन्त्री पौडेलको भनाइ छ ।