राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: मापदण्डअनुसार भवन बनाउन केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

Image

काठमाडौं ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका विद्यालयलाई विद्यालय शिक्षा मापदण्ड शाखाले तोकेअनुसार भवन बनाउन निर्देशन दिइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । दुईकोठे, चारकोठे र आठकोठे भवनको नमुना डिजाइन ड्रइङ शिक्षा विकास तथा मानव स्रोत केन्द्रको वेबसाइट www.cehrd.gov.np मा गएर हेर्न सकिनेछ ।

यस्तै, शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ काठमाडौंले तयार पारेको दुईकोठे र चारकोठे विद्यालय भवनको डिजाइन ड्रइङ समेत सम्बन्धित स्थानीय तहबाट स्वीकृत गराई निर्माणकार्य सञ्चालन गर्न/गराउन सकिने बताइएको छ ।

उल्लेखित डिजाइन परिमार्जन वा परिवर्तन गर्नुपरेमा राष्ट्रिय भवन निर्माण संहिता तथा अन्य प्रचलित ऐनसँग नबाझिने गरी गर्नुपर्नेछ ।सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ ।

छानिएका मध्ये चारकोठे भवन ९७६, दुईकोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापनामा २१ वटा परेका छन् । छनोट भएका विद्यालय भवन निर्माणका लागि केन्द्रले स्थानीय तहमा बजेट विनियोलन गरिसकेको छ । चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख रुपैयाँ, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार रुपैयाा दिने निर्णय भएको थियो ।

राष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्ट्याएको थियो । जसमा मुुलुुकका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए।