तीनै तहकाे परीक्षाकाे नतिजाबारे आयोग यस्तो भन्छ

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगले गत चैत १५ गतेदेखि २१ गतेसम्म लिएको माध्यमिक, निम्म माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालनमा सहयोग गर्ने परीक्षा समन्वय समिति, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई, सामुदायिक तथा संस्थागत विद्यालय, क्याम्पस लगायत परीक्षामा खटिने सुरक्षाकर्मी, कर्मचारी एवम् प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्णलाई आयोगले धन्यवाद दिएको हो ।

आयोगले परीक्षाको मूल्य, मान्यतालाई आत्मसात् गरी निष्पक्ष, वस्तुनिष्ट, स्वच्छ र विश्वसनीय ढंगबाट कार्यसम्पादन गर्दै आएको र भविष्यमा यसलाई अझ सुधार गर्दै लैजाने पनि जनाएको छ ।

भर्खरै सम्मपन्न भएका परीक्षाका विषयमा विभिन्न किसिमका प्रतिक्रियाहरू आएको विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । परीक्षाको सम्बन्धमा सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित तथ्यहीन एवम् भ्रामक प्रतिक्रिया र समाचारप्रति आयोगले दुःख व्यक्त गरेको छ ।

आयोगलाई लाञ्छित गरी भ्रामक अफवाह फैलाउने परीक्षार्थीहरूलाई प्रलोभनमा पारी फाइदा लिन खोज्नेहरूप्रति सचेत रहन पनि आयोगले आग्रह गरेको छ । नतिजा प्रकाशन तथा सिफारिसम्मका कार्यलाई जतिसक्दो चाँडो सम्पन्न गर्न आवश्यक कार्यहरु सुरु भइसकेको आयोगले जनाएको छ ।