काठमाडौं ।
कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दैछ । अभ्यासका लागि कतारमा रहेको नेपालले पहिलो मैत्रीपूर्ण खेलअन्तर्गत टिमोर लिस्टेविरुद्ध खेल्न लागेको हो । नेपाल–टिमोरविरुद्धको खेल राति ९ः४५ देखि सुरु हुनेछ ।
नेपाल र टिमोरबीचको खेल अल्कास डटनेटबाट हेर्न सकिनेछ । वर्तमान समयमा टिमोर फिफा वरियताको १९८ औं स्थानमा छ । नेपाल अहिले वरियताको १६८ औं स्थानमा छ । नेपालले एएफसी एसियन कप छनोटअघि मैत्रीपूर्ण म्याच खेलिरहेको हो ।
नेपालले दोस्रो खेल २० जेठमा ओमानविरुद्ध खेल्नेछ । यसअघि नेपालले अफगानिस्तानसँग खेल्ने तालिका रहेको थियो । तर, अफगानिस्तान कतार आउन नमानेपछि खेल स्थगित भएको थियो । नेपालले एसियन कप छनोटमा एसियाली पावरहाउस देशहरूसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
नेपाल रहेको समूह ‘ए’ मा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र ३१ गते इण्डोनेसियासँग खेल्नेछ । छनोटका लागि नेपालले टोलीको घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोली : गोलकिपर : दीप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा, डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी, फरवार्ड : जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ (कप्तान), आयुष घलान र दर्शन गुरुङ ।
