बैतडी शिक्षक हत्या प्रकरण : दिउसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने

Image

बैतडी ।

बैतडीका शिक्षक धनबहादुर बिष्ट हत्या प्रकरणका दोषी सार्वजनिक गर्न ढिलाई गरेको भन्दै संघर्ष समितिले पाटनमा दशरथचन्द राजमार्ग अवरुद्ध गरेको छ । बुधबार बिहान १० बजेसम्म घटनाका दोषी सार्वजनिक गर्ने प्रहरीले बताएको भएपनि अहिले सम्म दोषी सार्वजनिक नभएकाले आन्दोलनका पूर्व घोषित कार्यक्रम यथावत रहेका संघर्ष समिति संयोजक लिला बिष्टले बताइन् ।

बिष्ट हत्या प्रकरणमा दोषी रहेका सबैलाई सार्वजनिक नगर्दा सम्म आन्दोलनका कार्यक्रम जारी रहने उनले बताइन् । यस्तै मृतकका आफन्तहरुले अझै पनि बिष्टको शव बुझेका छैनन् ।

यता प्रहरीले भने शिक्षक बिष्ट हत्यामा संलग्न रहेकाहरुलाई दिउँसो दुई बजे सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षक बिष्टको हत्यामा कृष्ण माविको छात्राबासमा बस्दै आएकी युवती र उनका श्रीमानको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । कृष्ण मावि कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहराको हत्यामा संलग्नता रहेको प्रहरी श्रोतले जनाएको छ ।

बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट पौष २ गते छात्राबास पछाडि मृत अवस्थामा फेला परेका थिए । उनको पौष १ गते राति हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।