हेटौँडामा प्रदेशको सुरक्षा समन्वय समितिको दुइदिने बैठक सुरु

Image

हेटौंडा । हेटौँडामा मंगलबारबाट प्रदेशको सुरक्षा समन्वय समितिको बैठक सुरु गरिएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको बैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको हो ।

आज र भोली गरी दुई दिन हुने बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख र प्रदेशभित्रका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी भएका छन् । कार्यक्रम उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले कार्यक्रम गर्नुको उद्देश्य प्रकाश पार्दै देशको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सुरक्षा समन्वय समिति बैठक बसेको बताउनुभयो ।

कार्यक्रममा १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले प्रस्तुतीकरण गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले जानकारी दिनुभयो।

कार्यक्रमको दोश्रो दिन बुधबार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, राष्ट्रिय परिचयपत्र विभागका प्रमुख युवराज कट्टेललगायतले सम्बोधन गर्ने तालिका रहेको छ ।