केन विलियम्सनले भारतसँगको दोस्रो टेस्ट पनि गुमाउने, यस्तो छ कारण

Image

एजेन्सी । न्युजिल्याण्डका पूर्व कप्तान केन विलियम्सनले भारतविरुद्धको दोस्रो टेस्ट शृंखलाको दोस्रो खेल पनि गुमाउने भएका छन् । ३ टेस्टको सिरिजका लागि न्युजिल्याण्डको टोली भारत भ्रमणमा छ । पहिलो टेस्ट पाहुना टोलीले ८ विकेटले जित्दै सिरिजमा १-० काे अग्रता लिएको छ ।

गत महिना श्रीलंका भ्रमणका क्रममा घाइते भएका विलियम्सन भारतसँगको खेलमा टोलीमा रहेपनि न्युजिल्यान्डको टोलीसँग भारत गएनन् ।

आफ्नो रिह्याबिलिटेशनलाई निरन्तरता दिन उनी स्वदेशमै छन् । विलियम्सनको अनुपस्थितिमा विल योङले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । बेंग्लोरमा भएको पहिलो टेस्टमा उनले पहिलो इनिङमा ३३ र दोस्रो इनिङमा अविजित ४८ रन बनाए ।

‘हामी केनलाई नियालिरहेका छौं र उनी सुधारान्मुख छन्, तर उनी शतप्रतिशत फिट छैनन् । हामी आशावादी छौं कि आगामी दिनमा थप सुधार हुनेछ र उनी तेस्रो टेस्टका लागि उपलब्ध हुनेछन् । हामी उनलाई तयार पार्न सकेसम्म धेरै समय दिनेछौं,’ न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भने ।

पहिलो इनिङमा शतक र लक्ष्य पछ्याउने क्रममा अविजित ३९ रन बनाएका रचिन रविन्द्र प्लेयर अफ द म्याच घोषित भएका थिए । बलिङतर्फ म्याट हेनरीले आठ तथा विल ओरोर्केले ७ विकेट लिएका । घरेलु टोलीविरुद्धको दोस्रो टेस्ट खेल बिहीवार पुनेमा सुरु हुनेछ । न्युजिल्याण्ड टोली सोमवार साँझ पुने पुगेको छ ।