यस्तो भन्छन् उत्कृष्ट बलिङ गर्दै एनपिएलमा कीर्तिमान बनाएका सोहेल तान्विर

Image

काठमाडौं । पाकिस्तानी बलर सोहेल तान्विर नेपाल प्रिमियर लिग (एनपिएल)को एकै इनिङ्समा पाँच विकेट लिने पहिलो बलर बनेका छन् एनपिएलमा यो उनको पहिलो कीर्तिमानी हो।

३९ वर्षीय पेसर तान्विरले सोमबार काठमाडौं गुर्खाजविरुद्ध उक्त उपलब्धी हासिल गरेका हुन्। चितवन राइनोजको जर्सीमा मैदान उत्रिएका उनले पाँच विकेट लिन चार ओभरमा २१ रन मात्रै खर्चिए।

उनले मिचेल लेभिटलाई २५, स्टेफन इस्किनाजीलाई दुई तथा करण केसी, भीम सार्की र साहब अलामलाई समान एक रनमा पभिलियन फर्काए। लामो समयपछि मैदान फर्किएका उनले आफ्नोतर्फबाट दिनुपर्ने प्रदर्शनमा कुनै कमी देखाएनन्। पहिलो खेलमै उनी म्यान अफ द म्याच भए।

सन् २००८ मा आइपिएल टोली राजस्थानबाट उपाधि जितेका तन्विर एक वर्षपछि पाकिस्तानले टी-२० विश्वकप जित्ने टोलीमा थिए। ३९ वर्षीय तन्विरले सोमबार चितवनका लागि खेलपछि भने, ‘दर्शकका अघि क्रिकेट खेल्न पाइएन भने कुनै मजा हुँदैछ। मैले नेपाली क्रिकेटका फ्यानबारे यसअघि पनि भिडिओ हेरेको थिएँ। त्यसैले आजको खेलमा पनि मैले धेरै समर्थकको आशा गरेको थिएँ,’ उनले भने, ‘आज मैदान आउने सबै समर्थकलाई धेरै धन्यवाद दिन चाहन्छु।’

उनले चितवनको टोलीमा युवा खेलाडी भएको बताउँदै उनीहरूलाई आफ्नो अनुभव बाँड्ने बताए। ‘हाम्रो टोलीमा युवा खेलाडी छन्। यी युवा खेलाडीलाई मेरो अनुभव सेयर गर्नेछु। २० वर्षको अनुभव मेरो टोलीका लागि मात्र होइन, अरूलाई पनि सेयर गर्न तयार छु,’ उनले भने, ‘मैले यसअघि पनि टोली व्यवस्थापनलाई भनिसकेको छु। नेपाली क्रिकेटलाई सबै खाले सहयोग गर्न तयार छु।’

उनले आफू जस्ता खेलाडी आएर एनपिएल खेल्दा नेपाली क्रिकेटलाई फाइदा पुग्ने समेत बताए। ‘मैले आइपिएलबाट आफ्नो टी-२० करिअर सुरू गरेको थिएँ। मैले त्यसपछि पाकिस्तान सुपर लिग पनि खेलेँ। त्यसयता टी-२० धेरै परिवर्तन भइसकेको छ। आगामी दिनमा यो लिग निरन्तर भए नेपालको क्रिकेटलाई सहयोग गर्नेछ।’

उनले आज पाँच विकेट लिन सक्नुको कारण आफ्नो अनुभव भएको बताए। ‘मैले क्रिकेटका चार सय भन्दा बढी खेलेको छु। त्यो अनुभवले आज काम गरेको हो। मैले कन्डिसन नियालेर बलिङ गरेँ। टी-२० मा बलिङ गर्न कहिल्यै सजिलो हुँदैन। अझ आज स्लो पिच थियो। योजनाअनुसार बलिङले गर्दा काम गरेकाले आज मेरा लागि लक्की डे हो,’ उनले प्लेयर अफ दि म्याचको ट्रफी लिएपछि भने।