काठमाडौँ । नेपालको यू–१९ टोलीले हङकङको यू–१९ टोलीविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृंखलामा ‘ह्वाइट वास’ गरेको छ । नेपाली टोलीले शुक्रबार खेलिएको तेस्रो तथा अन्तिम खेलमा पनि हङकङलाई एक सय ३० रनको फराकिलो अन्तरले हरायो । यो नतिजासँगै नेपाली टोलीले ३–० ले शृंखला आफ्नो पक्षमा पा¥यो । यसअघि खेलिएको पहिलो खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई दुई सय २६ रनको विशाल अन्तरले हराएको थियो ।
त्यसअघि, नेपाली टोलीका लागि तीन ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । ओपनर ब्याट्सम्यान सूर्यान्शु कोइरालाले ६० रन बनाए । उनले ९६ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्तोष यादबले ५३ रनको योगदान गरे । उनले ४५ बलमा एक छक्का र ६ चौका प्रहार गरे । सातौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान अभिषेक तिवारीले पनि टोलीका लागि ५६ रनको योगदान गरे । उनले केवल ४१ बलमा दुई छक्का र चार चौका हिर्काए ।
नेपालका लागि नरेन भट्टले पनि ३६ रनको योगदान गरे । उनले ४७ बलमा दुई चौका प्रहार गरे । ओपनर सोहेल कुँवर भने १३ रन बनाउँदै आउट भएका थिए । राजेश बोहराले पनि टोलीको खातामा ११ रन थपे । नेपालले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । हङकङका बलर प्रित मंगुकिया, सायन पुरी, पार्थ श्रीवास्तव र ड्यानियल म्यापले दुई–दुई विकेट लिए ।















