कर्णालीलाई हराउदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

Image

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ। कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो ।

जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । अर्धशतक बनाउँन ५ रनले चुकेका निशम विपिन शर्माको बलमा बोल्ड आउट भए ।

हर्ष ठाकर २६ बलमा १७ रन बनाउँदै रन आउट भए । आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे । आकाश जिशान मक्शुदको बलमा आउट भए । ओपनर शुभ कसांकार ३ रनमा विपिन शर्माको बलमा आउट भए ।

मयन यादवले ७ रन बनाउँदा जीवनदान पाएका थिए । नन्दन यादवको बलमा विकेटकिपर चाल्डिक वाल्टनले क्याच ट्रप गरेका थिए । ७ रन थप्दै मयन दुुई लिने चक्करमा रन आउट भए । आसिफ शेख ४, लाहिरु मिलन्था २ तथा मोहम्मद मोहसिन १ रनमा आउट भए । शेर मल्ल १० बलमा १६ रनमा नट आउट रहे ।

कर्णालीका लागि युवा बलर विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले समान १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । २० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सन मोहम्मद मोहसिनको बलमा बोल्ड आउट भए।

ओपनर देव खनाल २४ रन बनाउँदै क्याच आउट भए। ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका देव जिम्मी निसमको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए। अर्का ओपनर जयकिसन कोल्सावाला १ रन बनाउँदा ललित राजवंशीको बलमा हर्ष थाकेरबाट क्याच आउट हुन पुगे।

तेस्रो नम्बरमा ब्याटिङमा आएका जिसन मक्सुद १२ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट पेभेलियन फर्के। चान्डविक वाल्टन ११ रन बनाउँदा हर्ष ठाकेरको बलमा आसिफ शेखको हातबाट क्याच आउट भए।

कप्तान सोमपाल कामी ५ रन बनाउँदै शेर मल्लको बलमा मोहम्मद मोहसिनको हातबाट क्याच आउट भए। अर्जुन घर्ती २ रनमा रनआउट हुन पुगे।

जनकपुरका लागि ललित राजवंशी, मोहम्मद मोहसिन र जिम्मी निसमले समान २ विकेट लिए। शेर मल्ल र हर्ष थाकेरले समान एक विकेट लिए।

विजेता जनकपुर रोमाञ्चक जितका साथ फाइनलमा प्रवेश गरेको छ । आइतवार हुने फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । पराजित कर्णालीले भने प्रतियोगिताबाट बाहिरिने छ । लिग चरणमा पनि कर्णाली जनकपुरलाई हराएको थियो ।