म प्रधानमन्त्री बन्छु भन्दा सहानुभूति नराख्ने मान्छे नेपालमा को होला: रामचन्द्र पौडेल

Image

काठमाडौं ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवबीच शुक्रबार सिंहदरबारमा छलफल भयो।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको छ। तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सांसद जितेका पौडेल प्रधानमन्त्री हुन दौडधुप गरिरहेका छन्।

उनले यसअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग कोटेश्वरस्थित निवासमै पुगेर प्रधानमन्त्रीका लागि सहयोग गर्न आग्रह गरेका थिए।

पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि पनि आन्तरिक तयारी गरिरहेका छन्। प्रचण्ड र बाबुरामसँग आजको भेटमा थप के कुराकानी भयो? सेतोपाटीले कांग्रेस नेता रामचन्द्र पौडेलसँग गरेको संक्षिप्त कुराकानी:

आज तपाईंहरूले के विषयमा छलफल गर्नुभएको हो? समसामयिक विषयमा छलफल गरियो। गठबन्धनलाई सुदृढ बनाएर लैजानुपर्‍यो, देशलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्छ भन्ने कुराकानी गरेका हौं।

छलफलमा नयाँ सरकारको कुरा पनि उठ्यो होला, प्रधानमन्त्रीबारे कसैले मुख खोल्यो त? मुख खोल्ने त मैले नै हो क्यारे! मैले अलिअलि कुरा राखें। नेपालमा मेरो पक्षमा सहानुभूति नहुने मानिस को होला र!

तपाईं प्रधानमन्त्री हुन त नेताहरूको पनि सहयोग चाहिएला नि! त्यही त सबै सकारात्मक छन्, अहिलेसम्म सबै राम्रो नै छ। सहयोगका लागि प्रचण्डले केही भन्नुभयो? सहयोग गर्नुपर्छ भन्नुहुन्छ।