स्वास्थ्यलाई विकाससँग जोड्दै “आरोग्य नगर” बनाउने लक्ष्य : नगरप्रमुख विष्ट

Image

हेटौंडा/ स्वास्थ्यलाई उपचारकेन्द्रित दृष्टिकोणबाट रोकथाममुखी सोचतर्फ उन्मुख गराउने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेपछि विश्वभर पहिलो पटक यो दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। नेपालकै प्रस्तावमा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत यस दिवसले स्वास्थ्य र जीवनशैली सुधारको नयाँ बहस सुरु गरेको छ।

नेपालमा पनि पहिलो पटक यो दिवस औपचारिक रूपमा मनाइएको छ। यस अवसरमा देशभर समग्र स्वास्थ्य, मानसिक सन्तुलन र सन्तुलित जीवनशैलीको महत्त्वलाई जोड दिँदै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्।

यसै सन्दर्भमा मकवानपुरको थाहा नगरपालिकाले ‘आरोग्य थाहा’ अभियानअन्तर्गत विशेष कार्यक्रम आयोजना गर्दै दिवसलाई स्थानीय स्तरमा संस्थागत रूपमा मनाएको छ। नगरपालिकाले आरोग्यसम्बन्धी गतिविधिका लागि आवश्यक बजेट विनियोजन गरी योजनाबद्ध रूपमा कार्यक्रम अघि बढाएको जनाएको छ।

कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टले थाहा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै अब “आरोग्य नगर” निर्माणलाई नयाँ विकास अभियानका रूपमा अघि बढाइएको बताए। उनले नागरिकको जीवनशैली सुधारमार्फत दीर्घकालीन रूपमा स्वस्थ समाज निर्माण गर्ने लक्ष्य रहेको स्पष्ट पारे।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक गुरुदेव रमेश नेपालले आधुनिक जीवनशैलीका कारण बढ्दै गएको रोग जोखिम न्यूनीकरणका लागि खानपान, सोच, व्यवहार र दैनिक आचरणमा परिवर्तन आवश्यक रहेको बताए। उनले नेपालकै प्रस्तावमा यो दिवस विश्वस्तरमा स्थापित हुनु देशका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले नेपाललाई स्वास्थ्य सचेतनाको विश्व अभियानसँग जोडेको बताए।

त्यस्तै, उपप्रमुख भरत गोपालीले ‘आरोग्य नगर’ अवधारणालाई दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा अघि सारिएको जानकारी दिँदै विकासलाई भौतिक संरचनासँग मात्र सीमित नराखी नागरिकको मानसिक र शारीरिक स्वास्थ्यसँग जोड्नुपर्ने धारणा राखे।

नेपालले संयुक्त राष्ट्रसंघमार्फत अघि सारेको प्रस्ताव गत फागुन २६ गते अनुमोदन भएपछि रोकथाममुखी स्वास्थ्य अवधारणाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो। यस अवधारणाले रोग लागेपछि उपचार गर्ने परम्परागत सोचभन्दा पहिले नै रोग रोक्ने अभ्यासलाई केन्द्रमा राखेको छ।