हेटौंडा/ २०८३ साल बैशाख ८ गते आयोजित एक महत्वपूर्ण भेलामार्फत वडा स्तरीय बौद्ध शिक्षा तथा गुम्बा व्यवस्थापन समिति औपचारिक रूपमा गठन गरिएको छ। भेलाले सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा कार्साङ योन्जन लामा चयन हुनुभएको छ भने उपाध्यक्षमा मिना लामा र कार्साङ लो लामा रहनुभएको छ। त्यसैगरी महासचिवमा हर्क रत्न लामा, सचिवमा युवराज लो तथा कोषाध्यक्षमा बिना लो चयन हुनुभएको छ। अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।
समितिको गठनसँगै वडाभित्रका बौद्ध धर्मावलम्बीहरूलाई एकीकृत गर्दै शिक्षा, संस्कार तथा धार्मिक चेतनाको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। बौद्ध समुदायलाई संगठित बनाउँदै धार्मिक अधिकारको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्यले समिति गठन गरिएको हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले बताउनुभयो।
समितिको अवधारणा पनि वडाध्यक्ष मोक्तानकै पहलमा अघि बढाइएको अध्यक्ष सचिवालय सदस्य मनोज परियारले जानकारी दिनुभयो। कार्यक्रम वडाध्यक्ष मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा उहाँले सहकार्य, आपसी सद्भाव तथा साझा पहिचानको संरक्षणमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
















