हेटौंडा/ इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक दिपक थापा “महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषित भएका छन्। उनलाई “उत्कृष्ट प्रहरी छनौट कार्यविधि, २०७९” अनुसार २०८२ साल चैत महिनाका लागि उक्त सम्मान प्रदान गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी निरीक्षक थापाले पछिल्लो समय गरेका प्रभावकारी तथा परिणाममुखी प्रहरी कारबाहीका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्।
उनको नेतृत्वमा मिति २०८२/१२/१० गते मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक जंगल क्षेत्रको भित्री सडकमा गरिएको चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेको बा.१३ च २०१४ नम्बरको गाडी नियन्त्रणमा लिइएको थियो। सो गाडीको पछाडि लुकाइछिपाइ ल्याइएको १७१ किलो २१ ग्राम गाँजा (२७ प्याकेट) बरामद गरिएको थियो। घटनामा संलग्न चालक राक्सिराङ गाउँपालिका–४ का करिब २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई समेत नियन्त्रणमा लिई कानूनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मिति २०८२/१२/२३ गते मनहरी अस्पताल परिसरमा आयोजित लामो तथा छोटो दूरीका सवारी चालकहरूको स्वास्थ्य परीक्षण तथा मादक पदार्थ एवं लागुऔषध सेवन (LA.P.SE/MAPSE) चेकजाँच अभियानका क्रममा १२ जना चालकलाई नियन्त्रणमा लिइएको थियो।
यसका साथै, विभिन्न मितिमा नदिजन्य पदार्थको अवैध दोहनमा संलग्न ५ वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रहरी निरीक्षक थापाको कार्यसम्पादनलाई उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई “महिनाको उत्कृष्ट प्रहरी” घोषणा गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री र प्रहरी नायब उपरीक्षक (DSP) पुष्कर बोगटीले थापालाई प्रमाण पत्र दिँदै बधाई दिएका छन् ।
यस्तै आगामी दिनमा समेत यस्तै प्रभावकारी कार्यसम्पादनको अपेक्षा व्यक्त गरेका छन्।















