डिजिटल हाजिरीमार्फत कर्मचारी अनुशासन कडाइ, तीन दिनभित्र विवरण बुझाउन निर्देशन

Image

हेटौंडा/ बागमती प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई कर्मचारीहरूको हाजिरी विवरण समयमै पेश गर्न कडाइ गरिएको छ। इन्द्रबहादुर बानियाँको पहलमा लागू गरिएको विद्युतीय हाजिरी प्रणालीले अब कर्मचारीहरूको दैनिक उपस्थितिलाई मात्र होइन, काज तथा बिदासम्बन्धी विवरणसमेत अनलाइनमै अद्यावधिक हुने व्यवस्था गरेको छ।

नयाँ व्यवस्थाअनुसार प्रत्येक कार्यालयले मासिक हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख तयार गर्नुपर्नेछ। उक्त अभिलेख महिनाको अन्त्य भएको तीन कार्यदिनभित्र अनिवार्य रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने निर्देशन जारी गरिएको छ।
यस कदमलाई कर्मचारी उपस्थितिमा पारदर्शिता कायम गर्ने र कार्यसम्पादनमा उत्तरदायित्व बढाउने प्रयासका रूपमा हेरिएको छ।

सरकारी निकायहरूमा लामो समयदेखि उठ्दै आएको ढिलासुस्ती र अनियमितताको समस्या समाधानतर्फ यो प्रणालीले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सम्बन्धित निकायलाई ऋषिराम भुसाल (अधिकृत सातौँ) द्वारा हस्ताक्षरित पत्रमार्फत अनुरोध गरिएको छ।