हेटौंडा — करदाता सेवाको पहुँच विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले आन्तरिक राजश्व कार्यालय मकवानपुर र थाहा नगरपालिका बीच आज समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झदारी अनुसार अब करदाताले पाउने विभिन्न सेवा स्थानीय तहमै उपलब्ध गराइने, करसम्बन्धी सचेतना अभिवृद्धि गरिने तथा दर्ता र परामर्श सेवामा सहजीकरण गरिने सहमति भएको छ। यस सहकार्यले कर प्रशासनलाई नागरिकमैत्री बनाउन र सेवाग्राहीको समय तथा लागत घटाउन मद्दत गर्ने अपेक्षा गरिएको नगर प्रमुख बिष्णु बिष्ट ले बताउनुभयो।
कार्यक्रममा दुवै पक्षका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले समन्वयात्मक कार्यशैलीमार्फत कर प्रणालीलाई अझ पारदर्शी, सरल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस समझदारीसँगै थाहा नगरपालिकाका स्थानीय बासिन्दा तथा व्यवसायीहरूले अब धेरै सेवा नजिकैबाटै पाउने भएका छन्, जसले कर प्रणालीप्रति विश्वास बढाउने र राजश्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास प्रमुख बिष्णु बिष्ट ले व्यक्त गर्नुभयो।

















