हेटौंडा / विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हेटौंडामा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, पत्रकारका अधिकार र बढ्दो चुनौतीबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले प्रेस स्वतन्त्रता व्यवहारमा अझै पूर्ण रूपमा सुनिश्चित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले विभिन्न माध्यमबाट प्रेसमाथि अप्रत्यक्ष दबाब र नियन्त्रणका प्रयासहरू बढ्दै गएको धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाई ले जुनसुकै सरकार आए पनि विभिन्न बहानामा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रवृत्ति देखिएको बताए। उनले लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रता आधारभूत तत्व भए पनि व्यवहारमा यसको पूर्ण कार्यान्वयन अझै कमजोर रहेको उल्लेख गरे।
उपाध्यक्ष हुमागाईले पछिल्लो समय सामाजिक सञ्जाल र परम्परागत सञ्चार माध्यमलाई एउटै रूपमा हेर्ने प्रवृत्तिले पेशागत पत्रकारिताको विश्वसनीयतामा असर पारेको बताए। उनका अनुसार अपुष्ट सूचना र भ्रामक सामग्रीको बढ्दो प्रवाहले जिम्मेवार पत्रकारितालाई थप चुनौती दिएको छ।
त्यस्तै, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्ट ले सरकारको पत्रकारप्रतिको दृष्टिकोणमा सुधार आवश्यक रहेको बताए। उनले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले राज्यले नियन्त्रण होइन संरक्षण र सहकार्यको नीति अपनाउनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी ले विश्वभर मनाइने प्रेस स्वतन्त्रता दिवसले पत्रकारहरूलाई आफ्नो अधिकार र जिम्मेवारीप्रति थप सचेत बनाउने बताए। उनले पेशागत सुरक्षासहित स्वतन्त्र पत्रकारिताका लागि निरन्तर संघर्ष आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, उपाध्यक्ष कुमारी वाइवा तथा महासंघका पूर्व अध्यक्ष राममणि दाहाल लगायतले प्रेस स्वतन्त्रताको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको महत्व र पत्रकारितामाथि बढ्दो चुनौतीबारे धारणा राखेका थिए।
सहभागीहरूले प्रेस स्वतन्त्रता केवल पत्रकारको अधिकार मात्र नभई नागरिकको सूचना पाउने अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको संरक्षणमा राज्य, सञ्चार माध्यम र नागरिक समाज सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

















