हेटौँडामा ढाका उद्यमी सम्मेलन, महिला उद्यमी सम्मानित

Image

हेटौँडा । ढाका कपडाको उत्पादन तथा बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यले हेटौँडा–१०, बुद्धचोकमा आयोजित ढाका उद्यमी सम्मेलन तथा बजार प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

हेटौँडा ढाका उद्यमी समूहकी उपाध्यक्ष रञ्जु राईको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला उद्यमशीलता र आर्थिक सशक्तीकरणमा जोड दिइएको थियो।

प्रमुख लामाले महिलालाई उद्यमशीलतासँग जोडेर आर्थिक तथा सामाजिक रूपमा सबल बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन्। हेटौँडा–१० का वडाध्यक्ष पूर्वा दोर्जे लामाले महिला उद्यमीको क्षमता विकासका लागि वडा कार्यालयले सहयोग गर्दै आएको उल्लेख गरे।

नगर महिला उद्यमी सञ्जालकी संयोजक गीता मैनालीका अनुसार हेटौँडा उपमहानगरपालिकामा एक सयभन्दा बढी ढाका उद्यमी छन्।
कार्यक्रममा महिलाद्वारा उत्पादित ढाकाका साडी, झोला, पर्स, कोटलगायत सामग्रीका स्टल राखिएका थिए। सो अवसरमा उद्यमी तथा प्रशिक्षक सीतादेवी थापा मगर र मकवानपुरमा ढाका उद्योगको सुरुवातका लागि पहल गर्ने कमला दर्जीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, महिला उद्यमी तथा सञ्चारकर्मीको उपस्थिति थियो।