हेटौंडा / मकवानपुरमा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा ‘मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगिता कात्तिक २० गतेदेखि २३ गतेसम्म थाहा नगरपालिकास्थित फाँटबजारको भलिबल चौरमा सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीले ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ।
सेमिफाइनलपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी सम्मान गरिने आयोजकले जनाएको छ।
















