राक्सिराङमा आँखा शिविर : ३४ जनामा मोतिबिन्दु पहिचान, ३० जनाको शल्यक्रिया

Image

हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालन गरिएको बृहत् आँखा शिविरबाट १७१ जना लाभान्वित भएका छन्। शिविरमा आँखा परीक्षण गराउँदा ३४ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको थियो।

राक्सिराङ गाउँपालिका कार्यालय र सामुदायिक आँखा अस्पताल हेटौँडाको संयुक्त आयोजनामा गत कात्तिक ११ गते बृहत् आँखा शिविर सञ्चालन गरिएको थियो।

शिविरमा मोतिबिन्दु पहिचान भएका ३४ जनामध्ये कात्तिक १५ गते सामुदायिक आँखा अस्पताल हेटौँडामा ३० जनाको शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ।

शल्यक्रियापछि आज बिरामीहरूलाई फलफूल वितरण गर्दै कार्यक्रम समापन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

गाउँपालिका र अस्पतालको सहकार्यमा सञ्चालित शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई आँखासम्बन्धी स्वास्थ्य सेवा लिन सहज भएको अध्यक्ष मल्लले बताए।