जनताको स्वास्थ्यमा राहत दिन २४ सै घण्टा सुपथ मूल्य औषधि पसल सञ्चालन गरौँ : महत

Image

हेटौँडा । स्थानीय सरकारले नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन २४ सै घण्टा सुपथ मूल्य औषधि पसल सञ्चालन गर्नुपर्ने माग उठेको छ।

सेवा सहयोग आवाज नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले स्थानीय सरकारले आफ्नै स्वामित्वमा औषधि पसल सञ्चालन गरी नागरिकलाई जुनसुकै समयमा औषधि उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।

उहाँका अनुसार प्रचलित औषधि ऐन, नियम तथा आवश्यक अनुमति पूरा गरी दक्ष जनशक्तिको व्यवस्थापनसहित स्थानीय सरकारले यस्तो सेवा सञ्चालन गर्न सक्छ। विशेषगरी रातिको समयमा आकस्मिक रूपमा औषधि आवश्यक पर्दा पसल नपाइने र महँगो मूल्य तिर्नुपर्ने बाध्यता हटाउन २४ सै घण्टा औषधि पसल प्रभावकारी हुने उहाँको भनाइ छ।

मधुमेह, उच्च रक्तचाप, मुटु तथा दमजस्ता दीर्घरोगका नियमित औषधि सुलभ मूल्यमा उपलब्ध गराउनुका साथै आर्थिक रूपमा विपन्न नागरिकलाई विशेष सहुलियत वा निःशुल्क औषधिको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

स्थानीय सरकारले ठूला योजना र देखावटी विकासभन्दा पहिले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक समस्यालाई प्राथमिकता दिनुपर्ने महतको भनाइ छ।

‘जनताबाट उठेको कर जनताकै जीवन सहज बनाउन खर्च हुनुपर्छ। विकासको अनुभूति भाषणमा होइन, नागरिकले पाउने सेवा, सुविधा र राहतमा देखिनुपर्छ,’ उहाँले भन्नुभयो।