हेटौँडा । घरेलु खेलाडी सोम लामाले पहिलो संस्करणको ‘वडाध्यक्ष कप–२०८३ राष्ट्रिय स्नूकर च्याम्पियनसिप (टप–१६)’ को उपाधि जितेका छन्।
हेटौँडा उपमहानगरपालिका–१५ को आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा काठमाडौंका वाङ्चुङ तामाङलाई पराजित गर्दै लामाले उपाधि आफ्नो पक्षमा पारेका हुन्। उपाधिसँगै उनले एक लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरे। 
उपविजेता बनेका वाङ्चुङले ५० हजार रुपैयाँमा चित्त बुझाए।
प्रतियोगितामा धनगढीका रोहित क्षेत्री र काठमाडौंका मिलन तामाङ तृतीय भए। पोखराका सोम विकले १०७ अङ्कको सेन्चुरी ब्रेक गर्दै ‘हाइएस्ट ब्रेकर’ को उपाधि जित्न सफल भए।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले खेलकुदलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए।
खेलकुद अब सामाजिक सद्भाव कायम गर्ने माध्यममा मात्र सीमित नरही व्यावसायिक अवसर र खेल पर्यटनको आधारसमेत बनेको उनको भनाइ थियो। स्नुकरमा आवश्यक धैर्यता, एकाग्रता र अनुशासनलाई उल्लेख गर्दै उनले यस खेलप्रति समाजमा रहेको नकारात्मक धारणा परिवर्तन गर्नुपर्ने बताए। स्नुकरलगायतका खेलको प्रवर्द्धन र खेलाडीको क्षमता विकासमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दा देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताए। प्रतियोगिताले हेटौँडाको पहिचान राष्ट्रियस्तरमा विस्तार गर्नुका साथै युवामा अनुशासन, धैर्यता र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
हेटौँडास्थित लियम स्नुकर हाउसमा सम्पन्न समापन कार्यक्रम हेटौँडा–१५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको अध्यक्षतामा भएको थियो। विजयी खेलाडीलाई मन्त्री तामाङ, वडा अध्यक्ष मोक्तान र राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।
















