हेटौँडा । कान्तिराजपथमा लागू गरिएको ३१ मिटर सडक मापदण्डका कारण नागरिकको घरजग्गा संकटमा पर्दा पनि हेटौँडा उपमहानगरपालिका कर असुलीमा मात्रै केन्द्रित भएको भन्दै सामाजिक अभियन्ता विशालराज महतले प्रश्न उठाएका छन्।
सेवा सहयोग आवाज नेपालका अध्यक्षसमेत रहेका महतले सडक मापदण्डका कारण नागरिकको सम्पत्ति उपयोग गर्न नसक्ने, बैंकबाट ऋण नपाउने र आर्थिक संकट झेल्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
उनले कान्तिराजपथमा २५ मिटर सडक मापदण्ड र ६ मिटर सेटब्याक गरी ३१ मिटर कायम गरिँदा कतिपय नागरिकको जग्गा २–३ धुरमा सीमित हुने अवस्था आएको उल्लेख गरेका छन्।
सडक विस्तारका नाममा घर भत्काउने तर प्रभावित नागरिकलाई मुआब्जा, राहत र पुनर्स्थापनाको व्यवस्था नगर्ने उपमहानगरपालिकाले त्यही सम्पत्तिको कर भने असुलिरहेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
महतले सडक मापदण्डबाट प्रभावित नागरिकलाई कर छुट, सहुलियत र राहतको व्यवस्था गर्न माग गर्दै कठिन अवस्थामा रहेका नागरिकको अभिभावकत्व स्थानीय सरकारले लिनुपर्ने बताएका छन्।
















