काठमाडौ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। नवनिर्वाचित गाउपालिका अध्यक्ष राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्।
स्थानीय चुनावको तयारी गर्नुअघि विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम महतो चुनावका लागि उनी गत असोजदेखि गाउँमै बस्न थालेका र गाउँमा बस्दा कलिला नानीहरूले भागेर विवाह गर्ने गरेको आफूले देखेपछि यस्तो निर्णय गरेको बताउछन।
अध्यक्ष महतो भन्छन, ‘यहाँ ६०/७० प्रतिशत बालविवाह हुन्छ। त्यसमा पनि भागी विवाहको अवस्था भयावह छ। १४-१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’। महतोले ‘५० हजार रुपैयाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ।’ भनेर यस्तो निर्णय गरेको बताए।
महतोका अनुसार एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जान्छ र यसले दिर्घकालीन समाधान दिन सक्छ। यसको हिसाब गर्दा गाउँपालिकालाई पनि त्यति ठूलो आर्थिक भार समेत नपर्ने बताए।

अध्यक्ष महतोले बालविवाह एवं भागीविवाह नियन्त्रण गर्न र छोरीलाई धेरैभन्दा धेरै पढाउन समुदायका सबै पक्षसँग छलफल गरि समाधान कसरी गर्ने विषयमा विद्यार्थी, अभिभावक, समाजका अगुवा, प्रहरी, प्रशासन सबैसँग अन्तरक्रिया गर्ने समेत बताए।
त्यसैगरी शिक्षामा भएका जर्जर समस्या समाधान गर्न अध्यक्षका हैसियतमा आफ्नो पहिलो प्राथमिकता नै गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार रहेको उनले बताए।
‘बाहिरबाट जसरी हेटौंडा, काठमाडौं, विराटनगरमा इन्ट्रान्स दिएर सरकारी स्कुल पढाउन जान्छन्, त्यसरी नै यहाँ पनि गाउँका मात्र होइन बाहिरका विद्यार्थी पढ्न आउने वातावरण बनाउँछु,’ भन्दै महतोले ‘१२ कक्षासम्म गाउँमै विद्यार्थीले विज्ञान पढ्न पाउनेछन्। साइन्स सम्भव नभए तत्काल एजुकेसन र म्यानेजमेन्टमै भए पनि स्नातक तहसम्म पढाइ पनि गाउँबाटै सुरू गर्ने बताए। यो कार्यक्रम नयाँ आर्थिक वर्षदेखि लागू हुनेछ।
