हेटौंडा । नेपाल पत्रकार महासंघले मकवानपुरका पत्रकार प्रताप बिष्ट र कमलचन्द्र सुमनलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ का रुपमा सम्मान गरेको छ । काठमाडौंमा शुक्रबारदेखि महासंघको २७ औं महाधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।
नेपालमा स्वतन्त्र प्रेसको विकास र रक्षाका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा खेलेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै बिष्ट र सुमनलाई प्रेस स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिएको महासंघले जनाएको छ । ४ दशकदेखि पत्रकारितामा क्रियाशील बिष्ट कान्तिपुर दैनिकमा आवद्ध छन् भने सुमन नमस्कार साप्ताहिकका सम्पादक हुन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षको रुपमा दुई कार्यकाल नेतृत्व गरेका बिष्ट वागमती प्रदेश समितिको संस्थापक अध्यक्ष हुन् । बिष्टले नेपाल पत्रकार महासंघको केन्द्रीय समिति सदस्यका रुपमा २ कार्यकाल काम गरेका छन् । हेटौंडाका पत्रकार होम कार्कीलाई इजरायल प्यालेष्टाइन युद्धको साहसिक स्थलगत् रिपोर्टिङ गरेकोमा सम्मान गरिएको थियो । सूचनाको हक कार्यान्वयनमा योगदान पु¥याएबापत् राष्ट्रिय सूचना आयोगले गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट हेटौंडाका पत्रकार रमेश बञ्जारा सम्मानित भएका छन् ।
















