एमसीसी राष्ट्रघाती र अपमानजनक सम्झौता : पूर्व प्रधानमन्त्री झलनाथ खनाल

Image

हेटौंडा। हेटौंडामा भएको प्रथम नगर अधिवेशनमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बोल्दै नेपाललाई अमेरिकाले चीनविरुद्ध प्रयोग गर्न खोजेको बताउनुभएको छ ।

चीनलाई ध्वस्त पार्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको उहाँको भनाई रहेको छ । नेकपा(एकीकृत समाजवादी) हेटौंडा उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्दै नेता खनालले एमसीसी एउटा राष्ट्रघाती र अपमानजनक सम्झौता भएको बताउनुभयो । एसपीपी मार्फत् नेपाललाई सैनिक अड्डा बनाउन अमेरिकी शक्तिहरु अझै तल्लिन रहेको उहाँको भनाई छ । नेता खनालले अमेरिकी साम्राज्यवादीको शक्तिहरु समाप्त भइ नसके पनि विस्तार कमजोर हुँदै गएको जिकिर गर्नुभयो ।

प्रमुख अतिथि खनालले देश बिकासमा समाजवादी अवधारणाले मात्र सम्भव हुने बताए । पुजिवादले सामाजिक विभेद र भ्रष्टचारलाई संरक्षण गर्दै आएकोले समाजवादको स्थापना अनिवार्य भएको नेता खनालको भनाई रहेको छ, अधिपत्य जमाउन खोज्ने दलहरुले देशको अवस्था कमजोर भएको औंल्याए ।

नेता खनालले आफुहरुले नेकपा एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न अझै पनि बाँकी रहेको बताउनुभयो । अधिवेशनले विष्णुमाया लामाको अध्यक्षतामा ६६ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

उपाध्यक्ष मा तारा ढुङ्गाना लामा , सचीवमा सफल अधिकारी , उपसचिवमा देवेन्द्र पराजुली र हेम सुवेदी लाई चयन गरेको छ । यस्तै भुगोलबाट ३८ , दलितबाट ३ , मुस्लिम बाट २ , युवा खुलाबाट ५ , महिलाबाट २ , खुलाबाट १० जना चयन भएका छन् । देवराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादी का प्रभावशाली नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा पोलिटब्युरो सदस्य घनप्रसाद , केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल , नगरप्रमुख मिनाकुमारी लामा , केन्द्रिय सदस्य राजाराम स्याङ्तान , जिल्ला अध्यक्ष बिष्नु दाहाल , सचीव धुर्व भुजेल लगायतको आतिथ्य रहेको थियोे ।