स्थानीय तहमा नै राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गरिने

Image

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने भएको छ । जिल्ला भित्रका ९ वटै स्थानीय तहमा शिविर सञ्चालन गर्ने तयारी थालेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

मङ्गलवार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले २ टोली बनाएर जिल्लाका ९ वटै स्थानीय तहको केन्द्रमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको हो । उनका अनुसार जेठ ३० गते (आज) बाट स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्र वितरणका लागि शिविर सञ्चालन गरिने भएको छ ।

आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै ज्येष्ठ नागरिकहरूको सजिलोका लागि शिविर सञ्चालन गर्न लागेको चिलुवालले बताएका छन्।

कुन कुन स्थानिय तहमा सिविर हुन्छ?

जिल्ला प्रशासन कार्यालयका अनुसार एउटा शिविर टोली राक्सिराङ गाउँपालिकामा जेठ ३० गते (आज) देखि असार १ गतेसम्म शिविर सञ्चालन गर्नेछ । असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा र असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा शिविर सञ्चालन हुनेछ ।

अर्को टोलीले बागमती गाउँपालिकामा जेठ ३१ गतेदेखि असार २ गतेसम्म, बकैया गाउँपालिकामा असार ४ गतेदेखि ७ गतेसम्म, मकवानपुरगढी गाउँपालिकामा असार ९ गतेदेखि १२ गतेसम्म, भीमफेदी गाउँपालिकामा असार १४ गतेदेखि १७ गतेसम्म र मनहरी गाउँपालिकामा असार १९ गतेदेखि २२ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गरिनेछ भने शिविरमा सामाजिक सुरक्षा भत्ताका सेवाग्राहीले मात्रै सेवा प्राप्त गर्न सकिनेछ ।