हेटौंडा उपमहानगरपालिका वडा नं. ११ मा गाईभैंसीका लागि म्याट खरिदमा अनुदान, १५ दिनभित्र आवेदन दिन आह्वान

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. ११ ले चालू आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत कार्यक्रम अन्तर्गत गाईभैंसीका लागि म्याट खरिदमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

वडा कार्यालयको २०८१ चैत २९ गतेको निर्णय अनुसार यो कार्यक्रम सार्वजनिक संस्थाहरू, कृषक, कृषि फर्म, कृषक समूह तथा कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई लक्षित गरिएको छ। यस सम्बन्धमा सूचना पहिलो पटक २०८१ चैत ३१ गते प्रकाशित गरिएको हो।

सूचनामा उल्लेख अनुसार, सम्बन्धित आवेदकहरूले १५ दिनभित्र (अर्थात २०८२ वैशाख १५ गतेसम्म) वडा कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्ने हेटौंडा ११ वडा अध्यक्ष जुना दाहालले आग्रह गर्नुभएको छ।

वडा भित्रका योग्य साझेदारहरूले गाईभैंसी पालनका लागि आवश्यक म्याट खरिद गर्दा लागतको ७० प्रतिशतसम्म अनुदान प्राप्त गर्न सक्नेछन् भने बाँकी ३० प्रतिशत रकम साझेदार आफैंले व्यहोर्नुपर्ने उहाले जानकारी दिनुभयो।
अनुदान प्राप्त गर्न चाहने इच्छुक पक्षले नागरिकता प्रमाणपत्र, संस्थागत हकमा दर्ता तथा नवीकरणका प्रमाणपत्र, कार्यक्रम प्रस्तावना, सम्बन्धित संस्थाको निर्णय र प्रतिवद्धता पत्रसहितको आवेदन पेश गर्नुपर्नेछ।

वडा कार्यालयले दोहोरो अनुदान नलिएको र अनुदानको दुरुपयोग नगर्ने स्पष्ट शर्त राखेको छ। अन्य सरकारी निकायबाट सोही प्रकृतिको लागि अनुदान लिइसकेको पाइएमा वा दुरुपयोग भएको खण्डमा प्रचलित कानुन अनुसार कारवाही गरिने पनि जनाईएको छ।

यस अनुदान कार्यक्रमले वडा नं. ११ भित्रको पशुपालन व्यवसायलाई थप व्यवस्थित र आधुनिक बनाउन सहयोग पुग्ने वडा कार्यालयको अपेक्षा छ।