शुक्रबार सार्वजनिक बिदा

Image

जनकपुरधाम । कमला स्नानका लागि धनुषा र सिरहाको आधा दर्जन स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका, विदेह नगरपालिका, सबैला नगरपालिकाले नगरभित्र शुक्रबार सार्वजनिक बिदा दिएको छ।

यस्तै, कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिकाले पालिकामा बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस्तै, सिरहाको सिरहा नगरपालिकाले शुक्रबार नगरमा सार्वजनिक बिदा दिएको छ भने नरहा गाउँपालिकाले नगरभित्रका विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ

कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने विश्वास छ। सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्र्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन्।

यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ। यो दिन नयाँ नयाँ धामी झाँक्री बन्ने विश्वास रहेको छ। भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन्।