बैतडी : बैतडीमा बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका–७ काँडा बस्ने १८ वर्षीय बस सहचालक नवीन भट्ट छन्। मेलौली नगरपालिका–१ प्रहरी चेक पोष्टस्थित महेन्द्रनगरबाट पञ्चेश्वर जाँदै गरेको पवन दूत यातायातको बस रोक्न खोज्दा सहचालक भट्ट खसेको जनाइएको छ।
चालक दीपक मल्लले चलाएको ना ८ ख ६३६१ नम्बर को बस रोक्न खोज्दा खसेर घाइते भट्टलाई प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको छ। उनको अवस्था गम्भीर रहेको बताइन्छ। चालक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

















