काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टिकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ । समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।
समितिका अनुसार भारतमा अक्टोबर १२ (समय: ११:४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समय: १०:०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय: ११:२१), मेलबर्न (समय: ११:२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय: १०:२१), कतारमा अक्टोबर १२ (समय: ११:०५) बजेका लागि उत्तम साइत रहेको छ ।
यसअघि गत असोज ४ गते नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा दशैंको टिकाको उत्तम साइत सार्वजनिक गरिसकेको छ । समितिका अनुसार नेपालमा दशैंको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।