मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बुद्धिको उपयोग गर्नाले लक्ष्यप्राप्ति हुने समय हो । विवेक र सुझ बुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनै कुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ । कर्म प्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेम सम्बन्धको दीगो प्रतीक बन्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नुछ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । मनोबल र आँतमा कमजोरी देखा पर्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ । अर्काका कुरा सुनेर पार्टनरको जीवन चर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लङटुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । चलिरहेको आर्थिक समस्याको हल हुन सक्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोराछोरीको क्रियाकलाप र उन्नति प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन छ । आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जुन कुराले मनमा उत्साह बढ्छ, त्यही कार्य गरे मन प्रसन्न रहनेछ । कार्यक्षेत्रमा उत्साहवर्द्धक परिणाम प्राप्त हुनेछ । नवीन रोजगारी वा नयाँ कारोबार प्रति आकर्षण देखिन्छ, नचिताएको काम पूरा हुने दिन हो । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पेसा वा कार्य क्षेत्र प्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्न सक्छ । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ । नातागोता र कर कुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषय वस्तु प्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । अध्ययन प्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिस्पर्द्धामा जीत हुनेछ । विगतका कमी कमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ ।
















