एनपीएल : चितवन राइनोजलाई कर्णाली याक्सले दियो मध्यम लक्ष्य

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु जितका लागि १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको हो।

कर्णालीका लागि मध्यक्रमका ब्याटर हुसैन तलतले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ३२ बलको सामना गर्दै २ चौका र ३ छक्का प्रहार गरे। यस्तै, अरिफुल इस्लामले मात्र १५ बलमा ४ चौका र २ छक्काको मद्दतले ३५ रनको विस्फोटक इनिङ्स खेले। गुलसन झाले ६ बलमा १८ रन तथा पवन शराफले १५ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान डेविड मिलर ५ तथा सोमपाल कामी ४ रनमा आउट भए।

बलिङतर्फ चितवन राइनोजका कमल सिंह ऐरी, उसामा मीर र सलाहुद्दीन खानले समान २-२ विकेट लिए। कमलले ४ ओभरमा मात्र २० रन खर्चिए। त्यसैगरी, सिकन्दर रजा र रिजन ढकालले १-१ विकेट हात पारे।