जर्ज मन्सेको ऐतिहासिक शतकमा लुम्बिनीविरुद्ध शानदार बदला लिँदै सुदूरपश्चिम बन्यो एनपिएल च्याम्पियन

Image

काठमाडौँ । स्कटल्यान्डका अनुभवी ओपनर जर्ज मन्सेको विस्फोटक शतकको मद्दतले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनीलाई पराजित गर्दै आफ्नो पहिलो एनपिएल उपाधि उचालेको हो ।

टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रनमा रोकेको थियो । लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा अविजित ३९ रन तथा कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन बनाए । त्यस्तै निरोशन डिकवेलाले २८ रन, अली शेखले २४ रन र डार्सी सर्टले २१ रनको योगदान दिए भने ओपनर आसिफ शेख १ रनमै आउट भए ।

लुम्बिनीलाई मध्यम योगफलमा समेट्न सुदूरपश्चिमका बलरहरूले कसिलो बलिङ गरे । स्कट कुग्लेइजनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान १–१ विकेट हात पारे । १५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई मात्र १३.३ ओभरमै १५८ रन बनाउँदै ३९ बल बाँकी छँदै ऐतिहासिक जित दर्ता गर्‍यो । प्लेयर अफ द म्याच बनेका जर्ज मन्सेले मात्र ५४ बल सामना गर्दै अविजित १२५ रनको ऐतिहासिक पारी खेले । उनले २८ बलमा अर्धशतक र ४९ बलमा शतक पूरा गर्दै आफ्नो पारीमा ८ चौका र १२ छक्का प्रहार गरे ।

मन्सेलाई अर्को छेउबाट अर्का ओपनर विनोद भण्डारीले गतिलो साथ दिए । भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन जोडेपछि पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी बन्यो । लुम्बिनीका बलरहरू शेर मल्ल, किशोर महतो, रुबेन ट्रम्पेलम्यान, डार्सी सर्ट, अभिषेक गौतम र कप्तान रोहित पौडेल मन्सेको आक्रामक ब्याटिङसामु निरिह बने ।

यो जितसँगै सुदूरपश्चिमले अघिल्ला दुई संस्करणको फाइनलमा बेहोरेको हारको पीडा र यसै सिजनको लिग चरण तथा पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेका हारको बदला लिएको छ । लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्दै एनपिएल फाइनलमा शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान रचेका मन्सेसँगै इतिहास रचेको छ ।